विश्वकप क्रिकेट छनोटमा नेपाल र ओमान भिड्दै

काठमाडौं । आईसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत छनोट खेलका लागि शुक्रबार आज नेपालले ओमानसँग खेल्दैछ ।

नेपाल र ओमानबीचको खेल बिहान पौने १२ बजे ओमान एकेडेमीमा सुरु हुने छ । आजदेखि ओमानमा सुरु हुने प्रतियोगितामा नेपालसहित ८ टोली सहभागी छन् ।

प्रतियोगिताको फाइनल प्रवेश गर्ने दुवै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।

यसअघि छनोट प्रतियोगिताका लागि नेपालले ओमानमै चारदेशीय सिरिज खेलेको थियो । सिरिजमा नेपालले ओमानलाई पराजित गरेको थियो भने अन्य दुई खेलमा हार व्यहोरेको थियो।

दोस्रो खेल नेपालले फेब्रुअरी १९ मा खेल्ने छ । यस्तै नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ ।

समूह चरणको खेलपछि शीर्ष दुई टोली दुवै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछ । फाइनल भने फेब्रुअरी २४ तारिखमा हुनेछ ।