

काठमाडौं । आईसीसी टी-२० क्रिकेट ग्लोबल क्वालिफायरमा नेपालले तेस्रो स्थानमा प्राप्त गर्न सफल भएको छ ।
अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालको सपना सेमिफाइनलमा युएईसँग हार बेहोरेपछि सकिएको थियो ।
सेमिफाइनलमा पराजित भएको दुई टोलीबीच बिहीबार भएको खेलमा घरेलु टोली ओमानलाई ९ विकेट हराएर नेपाल तेस्रो भएको हो ।
ओमानले दिएको ८८ रनको लक्ष्य नेपालले १७.२ ओभर खेल्दै १ विकेट गुमाएर पूरा गरेको हो ।
त्यसअघि मस्कटस्थित अल अमेरात रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको ओमान ८७ रनमै रोकिएको थियो ।
नेपाली बलरहरू हाबी भएपछि ओमानका कुनै पनि ब्याटरले लामो इनिङ खेल्न सकेनन् ।

खबर बजार । १२ फाल्गुन २०७८, बिहीबार १९:५३