
काठमाडौँ । प्रधानमन्त्रीले संसदमा नेपाल-भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति नेपाल बार एसोसिएसनले आपत्ति प्रकट गरेको छ । बारले उक्त अभिव्यक्तिलाई लिएर सार्वजनिक रूपमा कडा टिप्पणी गर्दै गम्भीर आपत्तिजनक भएको जनाएको छ ।

एसोसिएसनले जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई असंयमित, गैरजिम्मेवार र राष्ट्रिय स्वाभिमानमा चोट पुर्याउने प्रकृतिको रहेको उल्लेख गरिएको छ । सो भनाइले नेपालको परम्परागत कूटनीतिक दृष्टिकोण र अन्तर्राष्ट्रिय स्तरमा स्थापित अडानलाई कमजोर बनाएको निष्कर्ष बारको रहेको छ ।
महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाको हस्ताक्षर रहेको विज्ञप्तिमा नेपालको भूमि सम्बन्धी विषय कुनै पनि हालतमा त्याग गर्न नसकिने स्पष्ट धारणा व्यक्त गरिएको छ । सीमा विवादलाई ऐतिहासिक प्रमाण, नक्सा, सन्धि-सम्झौता तथा प्राविधिक अध्ययनका आधारमा मात्रै समाधान गर्नुपर्नेमा जोड दिइएको छ ।
बारले खेतीपातीका क्रममा हुने प्राकृतिक परिवर्तन वा नदीको धार फेरबदलजस्ता प्राविधिक विषयलाई राज्यस्तरीय सीमा अतिक्रमणसँग तुलना गर्नु उपयुक्त नहुने बताउँदै प्रधानमन्त्रीको कूटनीतिक समझमाथि समेत प्रश्न उठाएको छ ।
साथै, आगामी दिनमा सरकारलाई राष्ट्रिय हित, सीमा सुरक्षा र भौगोलिक अखण्डतासम्बन्धी विषयमा थप जिम्मेवार, स्पष्ट र संवेदनशील रूपमा प्रस्तुत हुन आग्रह गरिएको छ ।




खबर बजार । १९ जेष्ठ २०८३, मंगलवार १४:४९