आयोगले सोध्न थाल्यो दल र राजनीतिज्ञहरुमाथि स्पष्टीकरण

← Back

Thank you for your response. ✨

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र सार्वजनिक पदमा बसेका राजनीतिज्ञहरुमाथि स्पष्टीकरण सोध्ने क्रम बढाएको छ । देशभर निर्वाचन प्रचारप्रसारका साथै मतदानको मिति नजिकिंदै गर्दा आयोगले आचारसंहिता उल्लंघनका घटना तीव्र भएको आन्तरिक निष्कर्षका साथ स्पष्टीकरण सोधेको हो ।

आयोगले निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको नामबाट सामाजिक सञ्जालमा आचारसंहिता विपरीतका सामग्री प्रकाशित भएको भन्दै नेपाली कांग्रेसलाई स्पष्टीकरण सोधेको छ । कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार प्रसार समितिको नामबाट ‘ओलीजी गफ गर्छन्, हामी काम गर्छौं, रुख चिन्हमा मतदान गरौं’ शीर्षकको पर्चा सामाजिक सञ्जालमा देखिन आएको भन्दै आयोगले कांग्रेससँग जवाफ माग गरेको हो । निर्वाचन आयोगले त्यो पर्चा सामाजिक सञ्जाल तथा अन्य स्थानबाट तुरुन्त हटाई स्पष्ट पार्न निर्देशन दिएको छ ।

आचारसंहिता प्रतिकूल गतिविधि गरेको भन्दै आयोगले नेकपा माओवादी केन्द्रलाई पनि स्पष्टीकरण सोधेको छ । ‘त्यस दलको तर्फबाट कलैया उपमहानगरपालिका वडा नं। २३ का वडा अध्यक्ष विक्रम साह लगायतका व्यक्तिहरूले माओवादी केन्द्रको चुनाव चिह्न अंकित टिसर्ट सहित प्रचारमा देखिन आएकाले’ स्पष्टीकरणमा भनिएको छ, ‘आचारसंहिता विपरीत काम गरेको देखिंदा किन कारवाही नगर्ने भन्ने विषयमा तीन दिनभित्र प्रमाणसहित जवाफ दिन अनुरोध गरिन्छ ।’