चिकित्सकहरुद्धारा सरकारले आफ्नो उचित मूल्यांकन गर्न नसकेकोे गुनासो

सुर्खेत । राजनीतिक परिवर्तन होस् या अन्य सामाजिक क्षेत्रहरुमा चिकित्सकहरुले पु¥याएको योगदानको कदर हुन नसकेको गुनासो चिकित्सकहरुले गरेका छन् ।
राजनीतिक दलहरुले राष्ट्रिय सभालगायत मुलुकका महत्वपूर्ण क्षेत्र तथा सार्वजनिक संस्थाहरुमा चिकित्सकहरुको सहभागिता नगराउँदा उनीहरुको योगदानको कदर हुन नसकेको हुँदा आगामी दिनमा चिकित्सकहरुको योगदानको कदर गर्न आग्रहसमेत उनीहरुले गरेका छन् ।

आज सुर्खेतमा प्रजातन्त्रवादी चिकित्सक संघ नेपालको कर्णाली प्रदेश समितिको पदस्थापना कार्यक्रममा प्रजातन्त्रवादी चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. अनिलविक्रम कार्कीले चिकित्सकहरुको योगदानको कदर हुन नसकेको गुनासो गर्नुभयो । उहाँले चिकित्सकहरुले परिवर्तनका लागि धेरै योगदान गरेपनि न संघीय सरकार, न प्रदेश सरकारले आफुहरुको योगदानको मूल्यांकन गर्न सकेको गुनासो गर्नुभयो ।


नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष एवं नेपाल मेडिकल एशोसियसनका केन्द्रीय अध्यक्ष डा. लोचन कार्कीले कुनैपनि सरकारले चिकित्सकहरुको उचित मूल्यांकन गर्न नसकेको आरोप लगाउनुभयो ।

काम गर्ने बेला चिकित्सकहरुको खोजी गर्ने तर अवसर पाउने बेला बिर्सने गर्दा चिकित्सकहरुको योगदानको कदर नभएको उहाँको भनाइ छ । पार्टी तथा सरकारले अवका दिनमा चिकित्सकहरुको कामको मूल्यांकन गर्न जरुरी भएको सुझाव उहाँले दिनुभयो ।

कर्णाली प्रदेश अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काले सँधै आफ्नो पेशाप्रति तल्लिन रहने चिकित्सकहरु अव पेशागत हकहितका लागि एकजुट भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले कर्णालीका दुर्गम, विकट बस्तीहरुमा बेलाबेलामा शिविरहरु संचालन गरी सामाजिक उत्तरदायित्वको जिम्मेवारी पूरा गर्न पनि सुझाव दिनुभयो ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले जनताको सेवामा सदैव खटिने चिकित्सकहरु आफ्नो हकहितका लागि एकजुट भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले चिकित्सकहरुको बृत्ति विकासलगायत कदर गर्ने विषयमा प्रदेश सरकारले उचित कदम चाल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीले चिकित्सकहरुलाई पेशाप्रति प्रतिवद्ध रहन आग्रह गर्दै पार्टीभित्रको गुटउपगुटमा संलग्न नहुन सुझाव दिनुभयो । उहाँले पनि चिकित्सकहरुको योगदानको मूल्यांकन हुन नसकेको आफूले पनि महसुस गरेको भन्दै पार्टी तथा सरकारलाई यसवारेमा झकझाउने बचन दिनुभयो ।

यसैवीच सुर्खेतका डा. नवराज केसीको संयोजकत्वमा २२ सदस्यीय प्रजातन्त्रवादी चिकित्सक संघको कर्णाली प्रदेश समिति गठन गरिएको छ । समितिको उपसंयोजकहरुमा डा. सुशील समदर्शी, डा. शुभ श्रेष्ठ, डा. कमल थानी र डा. किशोर विष्ट, महासचिवमा डा. विकास खड्का, सचिवमा डा. रोशन श्रेष्ठ र डा. तुफानसिंह कठायत तथा कोषाध्यक्षमा डा. कृतिका थापा श्रेष्ठ चयन हुनुभएको छ ।