काठमाडौं । नेकपा (एमाले) ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग ल्याइएको विषयमा ठोस निर्णय गर्ने उच्च तहका नेताहरुलाई दिएको छ ।
आज भएको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले बाहिर चर्चा गरिएजस्तो सभामुख र सर्वोच्चका अन्य न्यायाधीशविरुद्ध कुनै काउन्टर महाअभियोग तत्कालै नल्याउने तर हठात् ल्याइएको महाअभियोगको विरोध गर्ने निर्णय गरेको छ ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईकाअनुसार वस्तुस्थितिको ठोस अध्ययन गरेर मात्रै यसबारे निर्णय लिने र यसको म्याण्डेट उच्च तहका नेताहरूलाई दिइएको छ ।
त्यस्तै अर्को विषय अमेरिकी सहायता परियोजना (एमसीसी) बारे पहिले सत्ता पक्षको धारणा आउनुपर्ने पुरानै अडान दोहोर्याएको छ ।
बैठकमा २० जना सांसदले धारणा राखेका थिए । भीम रावल, घनश्याम भुसाललगायतले चुनावको मुखमा चोलेन्द्र र एमसीसी बोकेर जान नहुने बताएका छन् । अन्य सांसदहरूको पनि यी दुई विषयमा पार्टीको ठोस धारणा आउनुपर्ने सुझाव छ ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनाव टार्ने र एमसीसी पास गर्ने मनसायका साथ महाअभियोग आएको बताउनुभएको छ ।
सचेतक भट्टराईले चोलेन्द्र ठीक भन्ने पक्षमा आफूहरू नरहेको भए पनि अहिलेको महाअभियोग जसरी आयो त्यसको आफूहरूले सडक र संसदबाट प्रतिवाद गर्ने बताउनुभयो ।
खबर बजार । २ फाल्गुन २०७८, सोमबार १६:५६