योग्यको साटो मापदण्ड मिचेर ‘झोले’लाई नियुक्ति

काठमाडौं  । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको बोली र ब्यवहार ठीक उल्टो पाइएको छ । मेरिटोक्रेसीको आधारमा योग्यलाई छान्ने भन्दै अध्यादेशमार्फत सवै नियुक्ति खारेज गरेको बालेन सरकारले धमाधम पार्टीका हनुमानलाई योग्यताभन्दा बाहिर गएर नियुक्ति दिएको हो ।

सरकारको पछिल्लो नियुक्तिले सरकार भन्ने एउटा, गर्ने अर्कैको नारा चरितार्थ भएको छ । हालसम्मको नियुक्ति हेर्दा बालेन सरकारले आफ्ना योग्य भन्दा पनि ‘पार्टीका झोले’ भर्ना गरेर मेरिटोक्रेसी भन्ने गरेको ब्यवहारमा देखिएको छ ।

खासगरी त्रिबि सेवा आयोगमा बिश्वबिद्यालयबाहेक सवैको जानकारी भएका रास्वपा कार्यकर्तालाई नियुक्त गरेर सरकारले मेरिटोक्रेसीकै धज्जी उडाएको छ । अध्यादेशबाट पुराना नियुक्ति खारेज गर्दा वालेन सरकार हरेक क्षेत्रमा प्रतिस्पर्धाबाट नियुक्त गर्ने वाचा गरेको थियो तर पछिल्लो दिनमा धमाधम जान्नेलाई छान्ने भन्दै पार्टी कार्यकर्ता भर्ना गरेको हो ।

यही क्रममा सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा रास्वपा कार्यकर्ता किशोर थापालाई नियुक्त गरेको छ । नेपाल सरकारका पूर्वसचिवसमेत रहनुभएका थापा सहरी योजनाविद्का रुपमा परिचित हुनुहुन्छ । उहाँलाई बिश्वबिद्यालयको बिषयमा भने कुनै ज्ञान नै नभएको मानिन्छ । त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री शाहले थापालाई बिना प्रतिस्पर्धा रास्वपा कार्यकर्ता र मेयरको उम्मेद्वार भएकै योग्यताका आधारमा सिधै सेवा आयोगको अध्यक्ष बनाउनु भएको हो ।

थापा विवेकशील साझा पार्टीमा आबद्ध भएर २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार हुनुहुन्थ्यो । नेकपा एमालेका विद्यासुन्दर शाक्यले मेयर जित्दा थापाले तेस्रो धेरै मत ल्याउनु भएको थियो । त्यो बेला हालकी काठमाडौं क्षेत्र नम्बर १ की सांसद रञ्जु दर्शनाले दोस्रो धेरै मत प्राप्त गर्नुभएको थियो । उहाँ बवेकशील साझा र रास्वपा एकतापछि रास्वपाका दह्रो खम्बाका रुपमा गत निर्वाचनमा भूमिका निर्वाह गर्नुभएको थियो । चुपचाप घन्टी छाप जिताउन लागेकै कारण बालेन सरकारले नियुक्ति दिएको हो ।

आर्किटेक्ट इन्जिनियर थापाले सहरी विकास, शिक्षा तथा पर्यटन मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो । सहरी योजनामा स्नातकोत्तर थापा आवास नीति तथा सहरी व्यवस्थापनका विषयमा विशेषज्ञता राख्नुहुन्छ । सरकारी सेवाबाट अवकाश पाएपछि उहाँ बागमती सरसफाइ अभियानमा समेत सहभागी हुँदै आउनु भएको छ । सेवा आयोगको सदस्यमा प्रा. डा. रेजिना मास्केलाई नियुक्त गरिएको छ ।

यता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पनि बालेनका सहयोगी शैलेन्द्र झालाई सल्लाहकार बनाउनु भएको छ । झा हाल अमेरिकी विदेश मन्त्रालयको प्रतिष्ठित ह्युबर्ट एच. हम्फ्रे फेलोसिपअन्तर्गत अमेरिकाको भ्यान्डरबिल्ट विश्वविद्यालयमा अध्ययन तथा व्यावसायिक अनुसन्धानमा संलग्न हुनुहुन्छ । झा काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगमा शिक्षा, प्रविधि तथा सामाजिक नवप्रवर्तन हेर्ने बोर्ड सदस्यका रुपमा रहनुभएको थियो ।

टिचर्स फर नेपालमा काम गरिसक्नुभएका झा बीआईटीएस लिडर इन्टरनेसनल प्रालिका संस्थापक अध्यक्ष हुनुहुन्छ । झाले जर्मनीबाट सूचना तथा सञ्चार इन्जिनियरिङ, फिलिपिन्सबाट विकास व्यवस्थापन तथा बंगलादेशबाट एप्लाइड इकोनोमिक्समा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ ।

सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य-सचिवमा तीर्थ श्रेष्ठलाई बनाइएको छ । पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेश) ले वरिष्ठ गीतकार, साहित्यकार तथा कवि श्रेष्ठलाई कोषको सदस्य-सचिव बनाउनु भएको हो । श्रेष्ठ पुशपतिबाहेक सवैको बिषयमा जानकारी राख्ने कवि हुनुहुन्छ ।

बालेन सरकारले श्रेष्ठलाई मापदण्ड भन्दा बाहिर गएर नियुक्ति दिएको हो । ६५ बर्षमुनीकालाई नियुक्त गर्नुपर्नेमा ६७ बर्षीय श्रेष्ठलाई पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव बनाइएको हो । श्रैष्ठको जन्म २०१६ सालमा पोखरामा भएको हो । पर्यटन मन्त्रालयले बनाएको नियुक्ति सम्बन्धी मापदण्डमा कार्यकारी पद मानिने कोषका सदस्य-सचिव बन्न ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ। तर, सदस्य-सचिवमा मनोनित भएका तीर्थ ६५ वर्ष नाघिसक्नु भएको छ ।

नेपाल वायुसेवा निगममा ५ जना सदस्य नियुक्त गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पौडेलको निर्णय अदालतबाट उल्टिएसँगै पदवहाल भइसकेका सदस्य हटाइएका छन्।अदालतको आदेशपछि यसअघि नियुक्त भएका निगमका सञ्चालक सदस्यहरू डा. दीपकप्रसाद बास्तोला, प्रवीण भट्टराई, महेश्वरभक्त श्रेष्ठ, रूपा लामिछाने र लीलाराज ढकालको नियुक्ति रद्द गरिएको छ।

मन्त्रालयले सर्वोच्चको आदेशबमोजिम नै योग्यताक्रमका आधारमा उपेन्द्रबहादुर कार्की, डा. दीपकप्रसाद बास्तोला र महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गरेको छ । हालसम्म नियुक्त भएका सवै जना रास्वपाका कार्यकर्ता हुन् ।