

सुर्खेत । पत्रकारको कार्ड र बुम बोकेर जेपनि गर्ने छुट पत्रकारहरुलाई नभएको प्रेश काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले बताउनुभएको छ । मंगलबारदेखी कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित प्रदेशस्तरिय पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताउनुभएको हो ।
‘हामी समाजको जनप्रतिनिधि हो’ उहाँले भन्नुभयो “हामी जहिलेपनि परिक्षणमा हुन्छौं । हाम्रा क्रियाकलापहरु समाजले नियालिरहेको हुन्छ ।” उहाँले पत्रकारहरुको समाजप्रति ठुलो जिम्मेवारी भएकोले संधै आचारसंहिताको डोरी भित्र रहेर काम गर्नुपर्ने बताउनुभयो ।
प्रेश काउन्सिल नेपालले देशव्यापी रुपमा आचारसंहिता जागरण अभियान सुरु गरेको समेत बस्नेतले जानकारी दिनुभयो । पछिल्लो समय पत्रकार आचारसंहिता उलंघनका घटना बढेकोले पत्रकार महासंघ र प्रेश काउन्सिल अझ बढि मैदानमा आउनु जरुरी भएको उहाँले सुनाउनुभयो ।
‘सामाजिक सञ्जाललाई देशको विकास गर्न प्रोत्साहित गर्नका लागि प्रयोग गर्नुपर्छ’ उनले थपे “नकि कसैलाई बर्वाद गर्न वा अपमान र विरोध गर्न ।” अध्यक्ष बस्नेतले अरुलाई प्रश्न गर्ने पत्रकारप्रति नै समाजले प्रश्न उठाउने अवस्था भएको भन्दै यो अवस्थाको अन्त्य गर्नुपर्ने उहाँले बताउनुभयो ।
प्रेश काउन्सिल नेपालका सदस्य सरद अधिकारीले बुम तेर्साउँदा भाग्नुपर्ने अवस्थाको अन्त्य कसरी गर्ने ? भन्दै उहाँले पत्रकारहरु प्रेश काउन्सिलको दुत भएको बताउनुभयो । सरकार र पत्रकारबिचको पुलको काम पे्रेश काउन्सिलले गर्ने उहाँले सुनाउनुभयो ।
कार्यक्रममा बोल्दै पत्रकार सुर्यमणी गौतमले पत्रकार आचारसंहिता उलंघन गर्दा पत्रकारिताको विश्वसनियताप्रति प्रश्न उठ्ने बताउनुभयो । उहाँले प्रेश काउन्सिल नेपालले पत्रकार आचारसंहिता सम्बन्धि प्रशिक्षक प्रशिक्षण कार्यक्रम ल्याउँदा स्थानिय स्तरमा आचारसंहिता सिकाउने प्रशिक्षक उत्पादन हुने विश्वास गर्नुभयो ।
पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण कार्यक्रममा कर्णाली प्रदेशभरका २५ जना बढि पत्रकारहरुको सहभागिता रहेको छ । कार्यक्रम बुधबार सम्म सञ्चालन हुनेछ ।

सृजना बुढाथोकी । २२ चैत्र २०७८, मंगलवार २०:१०