भदौ १० देखि ‘प्रकाश’ प्रदर्शन हुने

जुम्ला । जुम्लामा छायाङ्कन गरिएको चलचित्र ‘प्रकाश’ २०७९ भदौ १० गतेदेखि प्रदर्शन हुने भएको छ । अभिनेता प्रदीप खड्काको जन्मदिनको अवसर पारेर ‘प्रकाश’ प्रदर्शनको मिति घोषणा गरिएको हो ।

‘प्रकाश’ को पोष्टर

प्रदर्शन मिति घोषणासँगै चलचित्र निर्माण टिमले फर्स्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा प्रदीप र अभिनेत्री दीया मास्के मात्र प्रस्तुत छन् । भिन्न लुक्समा देखिएका उनीहरु फिल्ममा आमा र छोराको भूमिकामा छन् ।

सार्वजनिक पोस्टरमा सामान्य खालको पुरानो सट लगाएर देखिएका प्रदीपले शिरमा सेतो रंगको टोपी र छातीमा राष्ट्रिय प्रजातन्त्र पार्टी लेखिएको कालो झोला भिर्नुभएको देखिन्छ ।

झोला ठाउँ-ठाउँमा सिलाइएको छ । प्रदीप यस प्रकारको गेटअपमा पहिलो पटक देखिनुभएको हो । त्यस्तै, दीयाले ऊनको पछ्यौरीले टाउको ढाकेको देखिन्छ भने घाँटीमा मंगलसुत्र र नाकमा बुलाकी लगाउनुभएको छ ।

दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्र ‘प्रकाश’ निम्न वर्गीय परिवारमा हुर्किएको एक युवकले सरकारी स्कूलको शिक्षक बन्ने संघर्षको कथामा केन्द्रीत छ ।

डेब्यू फिल्मदेखि नै लभर ब्वाईको भूमिकामा देखिँदै आउनुभएका प्रदीप ‘प्रकाश’मा भने आफ्नो ‘कम्फर्ट जोन’बाट बाहिर निस्किनुभएको छ । ‘प्रकाश’ को कथाबस्तुमा सशस्त्र द्वन्द्वको प्रभाव देखाउन खोजिएको छ ।

महेन्द्र अधिकारीले निर्माण गरेको फिल्ममा प्रदीप र दीयासँगै रेनु योगी, प्रकाश घिमिरे, रामबाबु रेग्मी, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारहरुको अभिनय छ ।

विकास सुवेदीको कथा रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जिवन थापाको सम्पादन, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ ।