सुदुरपश्चि प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका शाह नियुक्त

धनगढी । सुदूर पश्चिम प्रदेशमा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख देवराज जोशी संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो ।
विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त हुनु भएको थियो ।
२७ पुसमा नागरिक उन्मुक्ति पार्टीको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त हुनु भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । जस अनुसार उहाँ मुख्यमन्त्री भएको ३० दिन आज पूरा भएको छ । तर विश्वासको मत लिने दिन नागरिक उन्मुक्ति पार्टीका सांसद प्रदेश सभामा अनुपस्थित भएपछि रावलले विश्वासको मत पाउन सक्नु भएको थिएन ।
रावल पदमुक्त भएपछि प्रदेश प्रमुख जोशीले नयाँ मुख्यमन्त्री नियुक्त गर्नु भएको हो । नवनियुक्त मुख्यमन्त्री शाहले ३० दिनभित्र विश्वासको मत लिनु पर्ने छ ।