‘अर्ली इलेक्सन’ विरुद्ध उभिए एन्फाका चार पदाधिकारी

फिफालाई पनि पत्राचार

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरेको ‘अर्ली इलेक्सन’ विरुद्ध वरिष्ठ उपाध्यक्षसहित कार्य समितिका ४ जना खुलेर उभिएका छन् । एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही तथा कार्य समिति सदस्यहरु रबिन्द्र चन्द ठकुरी र रुपेश अधिकारीले एक विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन् ।

उनीहरूले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा अध्यक्ष र महासचिवले झुक्याएर गराएको निर्णय अवैधानिक भएको भन्दै कार्यसमितिबाट सच्याउन माग गरिएको छ । यसविरुद्ध विश्व फुटबलको सर्वोच्च संस्था फिफामा पनि पत्राचार गरिएको उनीहरुले जानकारी गराएका छन् । फिफाको कोड अफ इथिक्स २६ अनुसार अधिकारको दुरुपयोगमा कारवाहीका लागि फिफासँग आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ ।

गत वैशाखमा धुलिखेलमा भएको साधाण सभाले एन्फाको साधारणसभा २०८३ मा गर्ने प्रस्ताव पारित गरेको थियो । साधारणसभाले गरेको निर्णय कार्यसमितिले उल्टाउन नसक्ने विज्ञप्तिमा स्मरण गराइएको छ । विज्ञप्तिमा निर्वाचन आयोग, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अदालतका निर्देशनलाई बेवास्ता गर्दै निर्वाचन प्रक्रिया अगाडि बढाइएको आरोप लगाइएको छ ।

खड्का र शाहीले कार्यसमितिको बैठकबाट पारित भनिएको निर्वाचनसम्बन्धी निर्णय कार्यसमितिका सबै सदस्यको सहमतिमा नभएको र आवश्यक प्रक्रिया पूरा नगरिएको स्पष्ट पारेका छन् । निर्वाचन समिति गठनदेखि साधारणसभा आह्वानसम्मका निर्णयमा गम्भीर त्रुटि रहेको उनीहरुको भनाइ छ । विज्ञप्तिमा विधान, अदालत र सम्बन्धित निकायको निर्देशनअनुसार मात्रै साधारणसभा तथा निर्वाचन प्रक्रिया अघि बढाइनुपर्ने माग गरिएको छ । अन्यथा यसले एन्फा र नेपाली फुटबललाई गम्भीर संकटतर्फ धकेल्ने चेतावनी दिइएको छ ।