कलाकारमाथि साइबर आक्रमण बढ्यो: अध्यक्ष भुवन केसी

काठमाडौं । चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले कलाकारमाथि साइबर आक्रमण बढेको बताउनु भएको छ ।

मंगलबार चलचित्र विकास बोर्डले काठमाडौंमा आयोजना गरेको फिल्म साइबर सेक्युरिटी डेस्कबारे अन्तर्क्रिरया कार्यक्रममा बोल्दै उहाँले कलाकारको गोपनीयता र साइबर सुरक्षामा आक्रमण भएको बताउनु भएको हो ।

‘प्रविधिका कारण हामीलाई दर्शकसँग सहजै पुग्न र चलचित्र क्षेत्रको विस्तार गर्न सहज भएको छ तर यसले नै साइबर सुरक्षाको विषयमा नयाँ चुनौती सिर्जना गरेको छ । हामीले नेपाली चलचित्रहरु अनलाइन लिक भएका प्रशस्त उदाहरण देखेका छौँ । यसले चलचित्र उद्योगलाई ठूलो नोक्शान भएको छ । यसबाहेक हाम्रा कलाकारहरुको गोपनीयता र सुरक्षामा पनि साइबर हमला हुने गरेको हामीले पाएका छौं’ उहाँले भन्नु भयो ।

अध्यक्ष केसीले साइबर हमला समस्या समाधानका लागि विकास बोर्डले चलचित्र साइबर सुरक्षासम्बन्धी डेडिकेटेड डेस्क स्थापना गर्न लागेको बताउनु भयो । ‘साइबर सेक्युरिटी एक जटिल मुद्दा हो । यसलाई हामीले बहुपक्षीय दृष्टिकोणबाट सम्बोधन गर्नुपर्ने हुन्छ । नेपाली राष्ट्रिय चलचित्र उद्योगले सामना गरिरहेको साइबर सुरक्षा चुनौतीलाई सम्बोधन गर्न चलचित्र विकास बोर्ड प्रतिवद्ध छ,’ उहाँले भन्नुभयो ।