कर्णाली प्रदेशका बालबालिकामा पर्याप्त पोषणको कमी

कर्णालीका ५४ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या

सुर्खेत । कर्णाली प्रदेशका बालबालिकामा पर्याप्त पोषणको कमी हुने गरेको पाइएको छ । स्वास्थ्यको सर्वेक्षण अनुसार कर्णालीका ५४ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या रहेको पाइएको हो ।


नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार कर्णालीका पाँच वर्ष मुनिका ५४.५ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या रहेको उल्लेख छ । जबकि राष्ट्रिय औसत ३२ प्रतिशत रहेको छ ।
पोषणका लागि नागरिक समाज संजाल (सिसान)का निवर्तमान संयोजक डा. उमा कोइरालाले कर्णालीका पाँच वर्ष मुनिका बालबालिकाको पोषणयुक्त खानाको अवस्था न्यून रहेको पाइएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षको साउन महिना यता फागुनसम्म कर्णालीका १६८ बालबालिकामा कडा कुपोषणबाट प्रभावित भएको जनाउनुभयो ।
उहाँले अझैपनि ३० प्रतिशत बालबालिकाहरु पोषणयुक्त खानाको पहुँच पनि पुग्न नसकेको पाइएको बताउनुभयो । सर्वेक्षण अनुसार ३५.५ प्रतिशत बालबालिकाको कम तौल भएको, ३२ प्रतिशत बालबालिकाहरुले जन्मेको एक घन्टाभित्र पनि दुध खान नपाउने गरेको अवस्था रहेको उल्लेख छ ।
यस्तै पाँच वर्ष मुनिका ४८ प्रतिशत बालबालिकामा रक्त अल्पताको समस्या रहेको, १५ वर्षदेखि ५९ वर्षका ३५ प्रतिशत महिलामा रक्तअल्पताको समस्या रहेको सर्वेक्षणमा जनाइएको छ ।
रक्तअल्पताले आमा र बच्चाको ज्यान जोखिममा पर्ने भएकोले यसको रोकथामप्रति सचेत रहनुपर्ने उहाँको सुझाव छ । कुपोषणका कारण पुड्कोपन, ख्याउटेपन, हाड भाँच्चिने समस्या, सरुवा रोग लागिरहने, परनिर्भरता बढ्ने जोखिम बढी हुने गर्दछ ।
पोषणको क्षेत्रमा काम गर्दै आएको लिवर्डका बरिष्ठ कार्यक्रम व्यवस्थापक डा. सन्तोष श्रेष्ठले कर्णाली प्रदेशमा पोषणयुक्त अन्न उत्पादन धेरै हुने भएपनि राम्ररी खान नजान्दा बालबालिकाहरु कुपोषणको शिकार हुने गरेको पाइएको बताउनुभयो ।
उहाँले कोदो, चिनो, लट्टे, कागुनोमा अत्यधिक पोषण पाइने भन्दै उहाँले प्रदेश र स्थानीय सरकारले यस्ता रैथाने बाली उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिनुभयो । पोषण र कृषिमा लिवर्डले कर्णाली र सुदूरपश्चिम क्षेत्रमा सहकार्य गरेको बताउँदै डा. श्रेष्ठले पोषणयुक्त खानालाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।
कर्णाली प्रदेश योजना आयोगका बरिष्ठ अधिकृत हरिबहादुर खत्रीले प्रदेश सरकारले स्थानीय तथा अर्गानिक उत्पादनलाई प्राथमिकता दिएको जानकारी दिनुभयो ।
उहाँले बालबालिकाहरुमा पोषणयुक्त खाना उपलव्ध भए उनीहरुको सर्वाङ्गीण विकास हुने भएपनि खान नजान्दा कुपोषणको शिकार हुने गरेको पाइएको बताउनुभयो ।